वीरगञ्ज । हनुमान जयन्तीको अवसरमा वीरगञ्जस्थित महावीरस्थान मन्दिरमा विशेष पूजासहित महाआरतीको आयोजना गरिएको छ ।
भोली वैशाख ११ गते अर्थात् हनुमान जयन्तीको अवसरमा वीरगञ्ज – ६ स्थित ऐतिहासिक महावीरस्थान मन्दिरमा विशेष पूजासहितको महाआरती आयोजना गर्न लागिएको हो ।
श्री महावीर मन्दिर समिति, श्री साप्ताहिक सुन्दर काण्ड प्रचार समिति, श्री साप्ताहिक हनुमान चालिसा पाठ समिति, श्री श्याम नवयुवक मण्डल, श्री मारवाडी महिला मञ्च र श्री राणी सति ज्योति मण्डलको संयुक्त आयोजनामा मङ्गलवार साँझ ६ बजेदेखि हुने महाआरतीको तयारी तीव्र रूपमा चलिरहेको वीरगञ्ज महानगरपालिका – ६ का वडाध्यक्ष जयप्रकाश शाहले जानकारी दिए । वडाध्यक्ष शाहका अनुसार महाआरतीमा वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह लगायतका विशिष्ट अतिथिहरूको समेत सहभागिता रहने छ ।
महाआरती पश्चात् साँझ साढे ७ बजेदेखि प्रसाद वितरण कार्यक्रम समेत राखिएको शाहले बताए । प्रसाद वितरणका लागि मारवाडी महिला मञ्चले तयारी समेत गरिरहेको उनले बताए ।
गत वर्ष पनि हनुमान जयन्तीको अवसरमा महावीरस्थान मन्दिर अगाडि महाआरतीको आयोजना गरिएको थियो । वीरगञ्जलाई धार्मिक पर्यटकीय स्थल बनाउँदै यहाँका युवाहरूमा सनातन धर्म प्रति आस्था बढाउने उद्देश्यका साथ महाआरतीको कार्यक्रम आयोजना गर्न लागिएको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए । महाआरतीमा बढीभन्दा बढीको सङ्ख्यामा सहभागिता जनाउन प्रमुख सिंहले आग्रह पनि गरेका छन् ।