वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जका विभिन्न स्थानबाट १० लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको मोवाईल टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रेल्वे रोडबाट भन्सार छलीका सामग्री बरामद गरेको छ ।
कुनै किसिमको कागजात तथा प्रज्ञापन पत्र नभएको अवस्थामा ८ लाख ४० हजार मूल्य बराबरको कुर्ता सुरुवाल ८५ सेट, टप्स ७५० पिस, ७६ जोर जुत्ता, काजु २३० किलोग्राम लगायतका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सारको मुख्य प्रवेशद्वारबाट पनि १ लाख २२ हजार ७२० रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ भेडियाही बाँसझाङ्बाट सशस्त्र प्रहरीले सालको गोलीया बरामद गरेको छ ।
सुरक्षा बेश बेलवा र सबडिभिजन वन कार्यालय सबैयाबाट खटिएको सयुँक्त टोलीले ५० हजार मूल्य बराबरको २० क्युबिक फिट सालको गोलीया र आरासहित २ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले जानकारी दिए ।
उनकाअनुसार बरामद सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ भने नियन्त्रणमा लिइएका व्यक्तिलाई काठसहित सब डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ ।