वीरगञ्ज । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले २७ वटा कम्पनीहरूलाई कालोसूचीमा राख्न लागेको हो । यी कम्पनीहरूलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसको आधारमा कालोसूचीमा राख्ने संस्थाले एक सूचना जारी गर्दै जनाएको हो ।
यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो ।
तर सो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो । यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।
कार्यालयले निकालेको सूचनाअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित मुस्कान कन्स्ट्रक्सनसहित २६ वटा कम्पनी छन् । मुस्कान कन्स्ट्रक्सनका सञ्चालक अजित आलम हुन् । यो कम्पनीलाई कालो सूचीमा राख्नका लागि पर्साको जिराभवानी गाउँपालिकाको कार्यालयले सिफारिस गरेको छ ।