वीरगञ्ज । सर्लाहीमा आइतबार भिनाजुको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने सालो पक्राउ परेका छन् ।
जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका – ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन् । महतोले भिनाजु राकेशकुमार महतो (सिम्बोल नं. ०२२१००४५) बाट एसइईअन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणितको परीक्षा दिइरहेका थिए ।
महतोलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेका वेला पक्राउ गरेको हो । कृष्णका भिनाजु राकेशकुमार जनकल्याण माध्यमिक विद्यालय धनकौल गाउँपालिका – १ धोबिनयाँका विद्यार्थी हुन् ।
राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब अन्य विषयको परीक्षा समेत दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले जनाएको छ । नक्कली परीक्षार्थी महतोलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ ।
सर्लाहीमा एसइईअन्तर्गत आइतबार तीन जना केन्द्राध्यक्षलाई निष्कासन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको छ । अनिवार्य गणित विषयको परीक्षामा आफ्नो केन्द्रभित्र मर्यादा कायम गर्न नगर्ने तीन जना केन्द्राध्यक्षलाई कारबाही स्वरूप जिम्मेवारीबाट हटाएर नयाँ केन्द्राध्यक्ष नियुक्त गरिएको हो ।