वीरगञ्ज । वीरगञ्जस्थित नारायणी सेन्ट्रल हस्पिटलले हाम्रो नेपाल मुस्लिम युवा क्लबसँगको सहकार्यमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट ६ सय भन्दा बढी लाभान्वित भएका छन् ।
पर्सा जिल्लाको ऐतिहासिक स्थान पर्सागढी नगरपालिका – ४ परशुरामपुरमा शनिवार आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ६ सय ७० जना महिला, पुरुष र बालबालिकाहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।
बदलिँदो मौसमका कारण ग्रामीण भेगमा बढ्दै गएको विभिन्न रोगको समयमै पहिचान गर्दै प्रकोपलाई समेत नियन्त्रण गर्ने उद्देश्यका साथ आयोजित शिविरमा जेनेरल फिजिसियन, स्त्री तथा प्रसूति रोग, मुटु रोग, शिशु रोग, हाड जोर्नी तथा नशा रोग र जेनेरल सर्जन विशेषज्ञ चिकित्सकहरूले परीक्षण गरेका थिए ।
नारायणी सेन्ट्रल हस्पिटलका मेडिकल निर्देशक प्रा. डा. प्रमोद कुमार सर्राफको संयोजकत्वमा भएको शिविरमा वडाध्यक्ष शेख खुर्शेद लगायतको उपस्थिति रहेको थियो । स्थानीय स्तरमा कार्यक्रमको सहजीकरण हाम्रो नेपाल मुस्लिम युवा क्लबका अध्यक्ष शेख सनाउल्ल्हाले गरेका थिए ।
वीरगञ्जको बिर्तास्थित नारायणी सेन्ट्रल हस्पिटलमा विभिन्न रोगका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आधुनिक मेसिन र प्रविधिको प्रयोग गरेर बिरामीको उपचार गर्ने गरेका छन् ।