वीरगन्ज | भारतबाट तस्करी गरी ल्याइएको भन्दै प्रहरीले दुई वटा भैंसी र एउटा पाडा नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकबाट प्रहरीले दुहुना भैंसी दुईवटा र पाडा एउटा नियन्त्रणमा लिएको हो । प्रहरीले भैंसीका साहु पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ का ५५ बर्षिय जोतनारायण यादवलाईपनि नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार, भैंसी र पाडा लिएर नवलपरासीतर्फ जाँदै गरेको ना ५ च ३३८६ नम्बरको पिकअप गाडी प्रहरीले परवानीपुर चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा भारतबाट राजश्व छलेर ल्याइएको अवस्थामा उक्त गाडीबाट दुई वटा भैंसी र एउटा पाडा बरामद भएपछि गाडीसहित भैंसी साहु यादवलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक कुमार विक्रम थापाले जानकारी दिए ।
नियन्त्रणमा लिइएका भैंसी, पाडा र गाडीलाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको थापाले बताए।