वीरगंज | साहुको पैसा हड्पने उद्देश्यले जंगलमा लुटपाट भएको भन्दै प्रहरीलाई झुटो खबर दिने एक गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ।
कपिलवस्तुको गोरुसिंगेबाट तौलिहवातर्फ जाँदै गरेको अवस्थामा शुक्रबार साँझ पौने सात बजेतिर लु १ च ८५४२ नम्बरका पिकअप बाेलेरो चालक कपिलवस्तु-२ कुदानका २२ वर्षीय रुपेश यादवले आफूलाई अपरिचित मानिसले कुटपिट गरी ५० हजार रुपैयाँ र मोबाइल लुटेको भन्दै प्रहरीलाई खबर गरेका थिए।
चालक यादवले गोरुसिंगेको थारु गाउँस्थित शुकेदव थारूको चाउमिन फ्याक्ट्रीमा मैदा पुर्याएर सो रकम संकलन गरी आफू तौलिहवातर्फ जाँदै गर्दा लुटपाट भएको मनगडन्ते कहानी प्रहरीलाई बताएका थिए।
दुई वटा पल्सरमा आएका पाँचजना अपरिचित व्यक्तिले गाडी रोकेर कुटपिट गरी रकम लगेको झुटो जानकारी उनले प्रहरीलाई दिएका थिए।
प्रहरीले शुक्रबार साँझ घटनाको अनुसन्धान गर्ने क्रममा शंका लागी गाडीको खानतलासी लिँदा सहचालक बस्ने सिटमुनि लुकाएको अवस्थामा सो रकम र मोबाइल फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।
बाटोमा हिँडेका गाडीहरु मोबाइलको लोकेसन लगायतका कुराको अनुसन्धान गर्दा चालकमाथि नै शंका लागी चेकजाँच गर्दा सो रकम गाडीमै लुकाएको अवस्थामा फेला परेको उनले बताए।
साहुको रकम हड्पने नियतले चालकले नक्कली लुटपाटको योजना बनाई प्रहरीलाई खबर गरेको उनले बताए। यादव कपिलवस्तु नगरपालिका-१ आनन्दबागस्थित जागेश्वर किराना पसलका साहु शम्भु केवटका गाडी चालक हुन्।
अफवाह फैलाउने र प्रहरीलाई झुटो खबर दिनेमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।