वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले सभ्य र मर्यादित ढङ्गले होली मनाउन आग्रह गरेका छन् ।
हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व मध्येको एक फागु पूर्णिमा अर्थात् होली पर्वलाई भड्किलो नबनाउन आग्रह गर्दै एसपी ढुङ्गेलले मर्यादित ढङ्गले मनाउन आग्रह गरेका हुन् । पछिल्लो समय होलीको नाममा विकृति बढेकाले सभ्य तरिकाले आपसी सद्भाव र एकताको सन्देश दिने गरी होली मनाउन एसपी ढुङ्गेलको अनुरोध छ ।
होली खेल्दा रङ्ग बाहेक अण्डा, मोबिल, लोला तथा फोहोर पानीको प्रयोग नगर्न समेत उनले आग्रह गरेका छन् । सवारी साधन तीव्र गतिमा नचलाउन, मादक पदार्थ सेवन नगर्न, मोटरसाइकलमा २ जना भन्दा बढी सवार नहुन, हेलमेटको अनिवार्य प्रयोग गर्न, बाटोमा हिँड्ने व्यक्तिलाई जबरजस्ती रङ्ग तथा अबिर नलगाउन पनि उनले अनुरोध गरेका छन् ।
त्यसै गरी अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, कुनै पनि भाषाको अश्लील गीत नबजाउन, डिजे तथा अन्य लाउड स्पिकर चर्को साउन्डमा नबजाउन, होली खेल्दा मनोरञ्जनको नाममा गाँजा, भाङ र अन्य कुनै पनि प्रकारका लागूऔषध वा नशालु पदार्थ सेवन नगर्न शाहले आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले चेकिङसहित गस्तीलाई पनि जोड दिएको हुँदा अवाञ्छनीय गतिविधि नहुनेमा उनी विश्वस्त छन् । नेपाल प्रहरी, ट्राफिक प्रहरीसँगै सादा पोसाकमासमेत गस्ती गर्नुका साथै सिसी टिभी क्यामराबाट पनि निगरानी गरिने शाहले बताए । भिडभाड हुने स्थानमा लुटपाट तथा चोरी हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गर्दै उनले कुनै पनि शङ्कास्पद अवस्था भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि आग्रह गरेका छन् ।
रङ्गको पर्व होलीलाई मर्यादित ढङ्गले मनाउन आग्रह गर्दै उनले सडकमा जाम हुने गरी कुनै पनि किसिमका कार्यक्रम नगर्न पनि सङ्घसंस्थालाई आग्रह गरेका छन् ।