वीरगंज | उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा भएका अधिकारीहरुलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न निर्देशन दिएका छन्।
बुधबार गृह मन्त्रालयमा सरुवा भएका अधिकारीहरुलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
गृहमन्त्री लामिछानेले भने ‘सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ। आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नुस्, तिनका सहयोगी बन्ने होइन।’
उनले गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लाग्न पनि निर्देशन दिए।
‘राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्। आज्ञापालक होइन, सृजनशील प्रशासक बन्नुस्। नागरिकबाट मान-सम्मान खोज्ने होइन, उनीहरुलाई गर्नुस्।’ उनले भने। लामिछानेले अध्यागमनका समस्या समाधानका योजनाहरूमा, हर सम्भव सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
‘औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस्। अध्यागमनका समस्या समाधानका योजना ल्याउनुस्, हर सम्भव सहयोग हुन्छ। त्यहाँ सेवाग्राहीले सास्ती भोग्नु नपरोस्।’ उनले भने।