वीरगन्ज | वीरगन्जको विर्तामा रहेकाे बाल सुधार गृहमा विभिन्न दातृ निकायले उपकरण र सामग्री सहयाेग गरेका छन् ।
अन्तर्राष्ट्रिय दातृ निकाय युनिसेफले थान एयर कुलर ८ थान , ४३ इन्चको एलईडी टिभी १ थान , ल्यापटप १ थान र डेक्सटप कम्प्युटर १ थान प्रदान गरेको हो । यस्तै टिपिओ नेपालले दराज, वेट मैशिन, क्यारेमबोर्ड, लुडो, बैडमिन्टन, चेस, योगामैट, वाइटबोर्ड लगायतका सामग्री बाल सुधार गृहलाई प्रदान गरेकाे हाे।
मंगलबार ती सामग्रीहरु बाल सुधार गृहका प्रमुख टीका काफ्लेलाई हस्तान्तरण गरिएको हाे।
सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय बाल न्याय समितिका सदस्य सचिव एवं सर्वोच्च अदालतका रजिष्टार नारायण प्रसाद पन्थीले बाल सुधार गृहको लागि सर्वप्रथम पूर्वाधार फेर्नुपर्ने योजना बनाउनु पर्ने बताए । उनले पूर्वाधार निर्माणको लागि उपयुक्त जग्गा व्यवस्थापन गरि छुटै भवन बनाउन न्यायिक समितिको तर्फबाट पहल गरिने बताए ।
पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधिश दिपक खनालले सुधार गृहमा कैदीलाई कोचेर राख्नु भन्दापनि उनिहरुलाई खेलकुद, शिक्षा, मनोरन्जन लगायतका अन्यकृयाकलाप गर्ने व्यवस्था संगै उपयुक्त पूर्वाधार र सरसफाई व्यवस्थापन भएमा मात्र साच्चिकै सुधार गृह हुने बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले निगरानी गर्ने विभिन्न सरोकारवालाको आवश्यक्ता भएपनि सुधारगृहको नितिगत निणर्य ,सुरक्षा, व्यवस्थापन तथा बजेट संचालन एउटै मन्त्रालयबाट भएमा सहज हुने सुझाव दि ।
वीरगन्जको बाल सुधार गृहमा हाल १० वटा काेठामा ११६ जना बालकहरुलाई राखिएको छ।
कार्यक्रममा जिल्ला न्यायाधिशहरु ध्रुबराज त्रिपाठी, रोशन गजुरेल, मोना सिंह, पुरुषोतम नेपाल, वीरगन्ज कारागारका प्रमुख फडिन्द्र दाहाल, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी लगायतकोपनि सहभागिता रहेको थियो ।