वीरगञ्ज । वीरगञ्जको मेनरोड फराकिलो पार्ने सम्बन्धमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश जारी गर्दै २०८१ जेठ २७ गतेको तारिख दिएको छ ।
पटकपटक पेसी सर्दै आएको वीरगञ्जको मेनरोड फराकिलो पार्ने मुद्दामा गत फागुन २२ गतेको पेसीमा सर्वोच्चको १० नम्बर इजलासले मन्त्रिपरिषद्को निर्णय झिकाउने निर्णय गरेको थियो । यसै विषयमा अदालतले आगामी जेठ २७ गतेको पेसी तोकेको वीरगञ्ज महानगरपालिका कार्यालयले जनाएको छ ।
विपक्षी कानून व्यवसायीले तत्कालीन मन्त्रिपरिषद्ले रक्सौल–पथलैयासँगै श्रीसिया सुक्खा बन्दरगाह–पथलैया सडकखण्डलाई त्रिभुवन राजपथ घोषित गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयको प्रतिलिपि पेश गरेका थिए ।
सोही प्रमाणको आधारमा न्यायाधीशद्वय कुमार चूडाल र तिलप्रसाद श्रेष्ठको संयुुक्त इजलासले मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश गरेको थियो भने त्यसको केही दिनपछि आगामी जेठ २७ गतेको तारिख दिएको महानगरपालिकाले जनाएको छ ।