बारा | बाराबाट प्रहरीले तस्करीको आशंकामा झण्डै दुई करोड रुपैयाँ मुल्यको सूर्तीसहित दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको दुईवटा ट्रकबाट प्रहरीले तस्करीको आशंकामा १ करोड ९७ लाख ३६ हजार ३ सय ७६ रुपैयाँ मुल्य बराबरको सूती बरामद गरेको हो ।प्रहरीले उक्त सुर्ती लोड गरिएको दुवै ट्रकपनि नियन्त्रणमा लिएको छ ।
बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार , आइतबार वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेका ना ६ ख ७६७ र ना ८ ख ९४ नम्बरको ट्रक प्रहरी चौकी पथलैयाबाट खटिएकोे प्रहरी टोलीले पथलैयामा रोकेर चेकजाँच गरेकोे थियो ।
त्यसक्रममा ना ६ ख ७६७ नम्बरको ट्रकबाट १ करोड ३३ लाख ९९ हजार ८४८ रुपैयाँ मुल्यको ३ सय ५६ बोरा र ना ८ ख ९४ नम्बरको ट्रकबाट ६३ लाख ३६ हजार ५२८ रुपैयाँ मुल्यको ३२० बोरा सुर्ती बरामद भएको न्यौपानले जानकारी दिए । ट्रकमा लोड रहेको सुर्तीको बिलबिजक शंकास्पद भेटिएपछि नियन्त्रणमा लिइएको उनले बताए ।
सुर्तीसहित नियन्त्रणमा लिइएका दुवै ट्रक आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक न्यौपानले जानकारी दिए ।