वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीले महरालाई कपिलवस्तुबाट सोमबार बिहान पक्राउ गरेको हो ।
नेपाल प्रहरीका आइजी बसन्त कुँवरले महरालाई काठमाडौं ल्याईँदै गरेको बताएका छन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले पनि आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सुन तस्करी प्रकरणको विषयमा महरासँग जाँचबुझ आयोगले बयान पनि लिएको थियो । सुन तस्करीकै प्रकरणमा जोडिएपछि उनका छोरा राहुल महरा समेत अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।
असोज १४ मा मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहीबार प्रतिवेदन गृहमन्त्री लामिछानेलाई १३ परिच्छेदमा ४८५ पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेका थिए । आयोगले ब्रेक शुमार्फत् भित्रिएको ६० किलो सुन र भेपमार्फत् भित्रिएको ९ किलो सुन सम्बन्धी अनुसन्धान तथा अध्ययन गरेको थियो ।