वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव बारा पुगेका छन् । बाराको कार्यक्रममा सहभागी भएपछि शुक्रवार रातिमा उनी र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवबिच मधेस प्रदेश सरकार सम्बन्धमा “वान टु वान” कुराकानी भएको छ ।
केन्द्रमा नयाँ समीकरणको सरकार गठन भएपछि गठबन्धनमा आएका र गएकाहरूको सम्बन्धमा व्यापक छलफल भएको जनाइएको छ । गठबन्धनमा काङ्ग्रेसको बहिर्गमन र एमालेको आगमनले मधेस प्रदेश सरकारमा फेरबदल हुने आकलन लगाइए पनि मधेस प्रदेशमा जसपाकै मुख्यमन्त्री रहने र वर्तमान सरकारमा केही फेरबदल हुन सक्ने सम्बन्धमा समेत कुराकानी भएको बताइएको छ । स्रोतका अनुसार मधेस प्रदेश सरकारको नेतृत्व जसपाले नै गर्ने तर, काङ्ग्रेसले पाएका मन्त्रालय एमालेलाई दिने केन्द्रमा समेत सहमति भइसकेका कारण प्रदेशमा त्यस अनुरूप नै हुनेछ । मधेस प्रदेशमा नेपाली काङ्ग्रेसले भौतिक पूर्वाधार, गृह र स्वास्थ्य मन्त्रालय लिएका छन् ।
हुनत लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि वर्तमान गठबन्धनमा नअटाएका कारण मधेस प्रदेश सरकारमा वन मन्त्रालय लिएका लोसपालाई समेत बहिर्गमनको सम्बन्धमा छलफल भएको छ । लोसपाले रमेश कुर्मीलाई वन मन्त्री बनाएको छ । लोसपा पनि बाहिरिए पछि मधेस प्रदेशमा चार वटा मन्त्रालय खाली हुनेछ ।
एमालेले मधेस प्रदेशमा मुख्यमन्त्री छाडे सबै मन्त्रालयमा दाबी गरे पनि काङ्ग्रेससँग रहेको मन्त्रालय एमालेलाई दिने र लोसपाले लिएको मन्त्रालय पछि छिनोफानो गर्दा उपयुक्त हुने मुख्यमन्त्री यादवले पार्टी अध्यक्ष यादव समक्ष ब्रिफिङ गरेको स्रोतको दाबी छ ।
मधेस प्रदेश सरकारको नेतृत्व सम्बन्धमा कुराकानी नमिल्दा जसपा पछिबाट सरकारलाई समर्थन दिएका थिए । मधेस प्रदेशको सम्बन्धमा छिनोफानो भएपछि मात्रै जसपाले वर्तमान सरकारलाई समर्थन दिएको गठबन्धनमा सहभागी भएको जसपा स्रोतको दाबी छ ।
मधेस प्रदेशमा जसपाकै मुख्यमन्त्री रहने र एमालेले काङ्ग्रेसले लिएको मन्त्रालय लिने जसपाका एक कार्यकारिणी सदस्यको दाबी छ । उनका अनुसार पार्टी अध्यक्ष यादवसित प्रदेश सरकार बारे मुख्यमन्त्रीको निर्णायक छलफल भएको छ ।