वीरगंज | काठमाडौँको वसन्तपुर अगाडि विधिवत् रूपमा आज बिहान चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
आज ठड्याइएको चीरलाई पूर्णिमाको रातमा ढालेर टुँडिखेलमा पुर्याई दाह गरेपछि होली समाप्त हुन्छ भने त्यसको भोलिपल्टदेखि वसन्त ऋतुको सुरुवात हुन्छ।
आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन चैत ११ र १२ गते परेको छ । ११ गते हिमाली तथा पहाडी जिल्लामा र १२ गते तराई/मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।