वीरगञ्ज । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई कांग्रेसबाट निरन्तर धोका दिएकोले गठबन्धन बदल्नु परेको बताएका छन्।
आज बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ।’
उनले केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा गर्नु भएको बताए। कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धार बलियो बन्दै जाने हुँदा त्यसलाई चिर्न नयाँ गठबन्धन बनेको उनको प्रष्टीकरण छ।
उनले अहिले देशको राजनीति सही बाटोमा आएको दावी पनि गरे। ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै संकट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशको राजनीति सही बाटोमा आएको छ।’ प्रचण्डले भने।
उनले गण्डकी प्रदेश सरकारका बारेमा छलफलमा रहेको बताएका छन्। प्रचण्डले भने, ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दै छौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ।’