जनकपुरधाम । सबभन्दा लामो धार्मिक पदयात्रा मधेशको महाकुम्भ मानिने परिक्रमाको धार्मिक लस्कर आज महोत्तरीको कञ्चनवनमा होली खेल्ने भएको छ ।
शनिबार महोत्तरीकै ध्र्रुवकुण्ड विश्राम गरेको परिक्रमाको धार्मिक लस्कर आज दिउँसोसम्म कञ्चनवन पुगेर होली मनाउने परम्परा रहिआएको छ । त्यसको लागि स्थानीय सरकारले भव्य होली कार्यक्रम आयोजन गर्दै आएको छ |
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ हरिनमरी स्थित कञ्चनवनस्थित पुगेर दिउँसो करिब ३ बजे होली महोत्सव मनाउने तयारी गरिएको हो ।
कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । उनका अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ । रंग, अविर, फूलमालाले परिक्रमा यात्रीलाई भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख साहले बताए ।
परिक्रमा आज कञ्चनवन पुगेर होलि खेल्ने भएपछि भंगहा नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले परिक्रमा यात्रीको स्वागतको लागि सार्वजनिक बिदा दिएको निमित प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादवले जानकारी दिए ।
कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रंग अविर खोलेर होली मनाएको धार्मिक विश्वास छ । आजको दिन पनि यहाँ आउने श्रद्धालुहरुले एक अर्कालाई रंग, अविर लगाएर होली खेल्ने गर्दछन् । कञ्चनवनमा श्रद्धालुले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ ।