जनकपुरधाम । सधै विवादै विवादमा फँस्दै आएको दक्षिणी धनुषाको धनौजी गाउँपालिकामा पुनः तालाबन्दी गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गाउँ कमिटीले मँगलबार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार साहले गाउँपालिकामा एकलौटी शासन गर्न खोजेको आरोपसहित लोसपाले तालबन्दी गरेको हो ।
मँगलबार दिउँसो लोसपाका गाउँपालिका अध्यक्ष उपेन्द्र मण्डलको अगुवाईमा गएको दर्जनौ नेता कार्यकर्ताले गाउँपालिमा तालाबन्दी गरेको हो । गत भदौ २७ गतेमा गाउँपालिका अध्यक्षसँग भएको १२ बुँदे सहमति अझै कार्यन्वयन नगर्दा बाध्य भएर तालाबन्दी गरिएको बताईएको छ ।
नव निर्वाचित जनप्रतिनीधिहरुलाई पदीय जिम्मेवारी खाएको दुई बर्ष वितिसक्दा पनि अहिलेसम्म जनताले नयाँ विकासका अनुभूति गर्न नसकेको आरोप छ । उनीहरुले विकास निर्माणको कार्य तीव्र पार्नुपर्ने भन्दै तालाबन्दी गरेको हो । सो क्रममा लोसपाका गाउँपालिका अध्यक्षका प्रत्यासी नेता जीवेन्द्र झा, युवा नेता रोशन मिश्र लगायतका नेता कार्यकर्ताहरुले गाउँपालिका अध्यक्ष विरुद्ध नाराबाजी गर्दै तालाबन्दी गरेको हो ।