वीरगंज | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको छ। बुधबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिएका थिए। सभामुख देवराज घिमिरेले समय दिएपछि सांसद सुशीला थिङ बोलेकी थिइन्।
उनले सहकारी ठगीमा जोडिएका व्यक्तिहरूलाई प्रधानमन्त्रीले मन्त्री बनाएको आरोप लगाइन्। ‘सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्रीले ल्याउनुभएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनुभएछ,’ कांग्रेस सचेतकसमेत रहेकी थिङले भनिन्।
उनले सहकारी ठगीबारे अनुसन्धान हुन्छ कि हुन्न भन्नेबारे जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रहसमेत गरेकी छन्। साथै उनले पूर्वराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करीमा जोडिएका समाचार आएको बताएकी थिइन्। ‘यो विषयहरूमा कसरी जाने हो? यो विषय निराकरण नभएसम्म सदन सहजै चल्दैन,’ उनले भनिन्।