वीरगञ्ज । अधिकांश वाणिज्य बैङ्कहरूले चैत महिनामा पनि ब्याजदर घटाएका छन् । बैङ्कहरूले चैत महिनाका लागि फागुनको तुलनामा औसत ब्याजदर ०.५ प्रतिशतले बिन्दुले घटाएका हुन् । फागुन महिनामा २० वटा वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा औसत ७.७५ प्रतिशत ब्याजदर दिएका थिए । अब चैतमा भने त्यस्तो ब्याजदर घटेर ७.२५ प्रतिशतमा सीमित भएको छ ।
यसपालि एनआईसी एसिया बैङ्कले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैङ्कले भने यथावत् राख्दा बाँकी १७ बैङ्कले भने ब्याजदर घटाएका हुन् । एनआईसी एसिया बैङ्कले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएर ८.५४८ प्रतिशत बनाएको छ । यो नै चैत महिनाका लागि बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने सर्वाधिक ब्याजदर हो ।
बैङ्कबारे नकारात्मक टिप्पणी बढेर केही निक्षेप बाहिरिएपछि बैङ्कले थप निक्षेप सङ्कलनका लागि ब्याजदर वृद्धिको अस्त्र प्रयोग गरेको हो । बैङ्कहरूले साउन महिनादेखि नै ब्याजदर सम्बन्धी भद्र सहमति छाडेर आवश्यकता अनुसार ब्याजदर घटाउने वा बढाउन पाउने व्यवस्था गरेका थिए । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई हरेक महिनाको मसान्त भित्रै आगामी महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिदिएको छ । बैङ्कहरूले त्यसरी हरेक महिना नयाँ ब्याजदर तोक्दा अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतसम्म बढाउन वा घटाउन सक्ने सुविधा पाएका छन् ।
अहिले भने व्यक्तिगत मुद्दतीको भन्दा संस्थागत मुद्दतीमा मुद्धतिमा एक प्रतिशतले मात्रै कम ब्याज दिन पाइने व्यवस्था छ । राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत संस्थागत निक्षेप कर्ताहरूलाई २ प्रतिशत कम ब्याज दिनुपर्ने पुरानो व्यवस्थाको सट्टा १ प्रतिशत मात्रै कम ब्याजदर दिन पाउने सुविधा दिएको थियो । यसले बिमा कम्पनीहरूलाई फाइदा पुगेको छ ।
राष्ट्र बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदर बिचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै बनाउन नपाउने नियम लगाएको छ । त्यस कारण व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घट्दा बचत र कल निक्षेपको ब्याजदर घट्दै जानेछ । बैङ्कहरूले स्वीकार गर्ने सबै खाले निक्षेपको ब्याजदर घट्दै गएपछि कर्जाको ब्याजदर पनि घटाउनुपर्नेछ ।