वीरगंज । कलेजो रोगबाट पीडित इन्द्रावती गाउँपालिका– १ निवासी ५८ वर्षीय टोपबहादुर लामाले सहयोगका लागि सबैसँग सहयोगको याचना गरेका छन् । एक महिनादेखि रोगले थलिएका लामाले कलेजो प्रत्यारोपण गर्न आर्थिक सहायता मागेका हुन् ।
उनको आर्थिक अवस्था कमजोर छ । भक्तपुरस्थित सहिद धर्मभक्त नेसनल ट्रान्सप्लान्ट सेन्टरले कलेजो प्रत्यारोपण गर्न भनेकाले आर्थिक संकलन गर्नुपर्ने अवस्था आएको हो । अस्पतालले क्रोनिक लिभर डिजिज भनेर निदान गरेको र प्रत्यारोपणको विकल्प नभएको बताएको छ ।
लिभर ट्रान्सप्लान्ट सर्जन डा. सपना वर्माले तत्काल २० लाख जम्मा गर्न भनेकी छिन् । सामान्य खेती–किसानी गरेर जीवनयापन गर्दै आएका लामा महिना दिनदेखि गोकर्ण नयाँपाटीमा डेरा लिएर बस्दै आएका छन् ।
कलेजो पूर्ण रूपमा बिग्रिएकाले प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको भनाइपछि छरछिमेकले पनि आर्थिक जुटाउन लागेका छन् । तर, सानो गाउँ भएकाले सरसापटबाट धेरै नउठ्ने लामाले बताए ।
उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको खाता नंं. १७३०५२२००००३२१ मा सहयोग जम्मा गरिदिन अनुरोध गरेका छन् । उनलाई अहिले डेराबाट भक्तपुर लगेर चिकित्सकको निगरानीमा राखिएको छ ।