वीरगन्ज । वीरगन्जमा साेमबार हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द गराएकाे छ। राैतहटकाे ईशनाथ नगरपालिकाकाे घिउडा गाँउमा सरस्वतीकाे मुर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबिच पाँच दिनदेखी जारी विवादलाई लिएर वीरगन्जमा साेमबार हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द गराएका हुन् । त्यसक्रममा बजार बन्द गराउँदै हिडेका हिन्दुवादी र प्रहरीबिच ठाँउ ठाँउमा झडप भएकाे छ ।यस्तै हिन्दुहरुले निकालेकाे विराेध जुलुशमा मुस्लिम समुदायका एक समुहले अवरोध गर्न खाेज्दा प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको छ।
अहिलेपनि वीरगन्जकाे मुख्य बजारकाे अवस्था तनावपूर्ण नै रहेकाे छ।चाेक चाेकमा हिन्दुवादी र मुस्लिमहरु छुट्टाछुट्टै भेला भएर बसेपछि ठूलाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। हिन्दुवादीहरुले जुलुश निकालेर बजार बन्द गराउँदै हिडेपछि समुह बनाएर मुख्य सडकमा आएका मुस्लिम समुदायकाे एक समुहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मकाे झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेकाे भएपनि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक माेहनविक्रम केसीले जानकारी दिए । यस्तै हिन्दु समाजले राैतहट,महाेतरी लगायतका जिल्लामा हिन्दुमाथि अत्याचार भएकाे भन्दै त्यसमा संलग्नहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ।