वीरगंज । नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिन ‘सकस’ परेको छ । महामन्त्री थापाले महासमितिमा लैजाने प्रतिवेदन यसअघि सुझावका लागि केन्द्रीय समिति बैठकमा पेस गरेका थिए । जसमा आगामी चुनावअघि गठबन्धन गर्न नहुने उल्लेख छ । तर उक्त विषयप्रति सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । गठबन्धनबारे महामन्त्री थापाको उक्त प्रतिवेदन सच्चाउन सभापति देउवाले दबाब दिइरहेका छन् । तर महामन्त्री थापा उक्त प्रतिवेदन नसच्चाई जस्ताको तस्तै महासमितिमा पेस गर्ने अडानमा छन् । प्रतिवेदन सच्चाएर मात्रै महासमितिमा लैजानभन्दै देउवाले आइतबार महामन्त्री थापालाई आफ्नै निवासमा बोलाएका थिए । त्यसक्रममा थापाले आफ्नो प्रतिवेदन महासमितिले नै अस्वीकार गरे आफूलाई स्वीकार्य हुने तर पहिल्यै आफू प्रतिवेदन सच्चाउन तयार नभएको जवाफ दिएका थिए ।
त्यसपछि आइतबार दिउँसो पनि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै प्रमुख सचेतक रमेश लेखकबिच संसद् भवनमा छलफल भएको थियो । तर सो छलफलमा समेत थापाले प्रतिवेदन सच्चाउन तयार नभएको बताएपछि उनीहरूबिचको छलफल त्यसै टुङ्गिएको थियो । यो पनि आजदेखि कांग्रेस महासमिति बैठक, सभापति देउवाले उद्घाटन गर्ने । चार नेताबिचको आइतबारको छलफल सकारात्मक हुन नसकेपछि सोमबार बिहान सभापति देउवाले चारै जना नेतालाई बुढानीलकण्ठ बोलाएका छन् । नेता लेखकले हिजो दिनभर सहमतिको प्रयास गरे पनि सफल नभएको बताए । त्यस्तै उनले महामन्त्रीको गठबन्धन गर्ने नगर्ने भन्ने कुरा रणनीतिक विषय भएकाले अहिले नै गठबन्धन गर्ने नगर्ने भनेर घोषणा गर्ने कुरा राम्रो नहुने बताए । उनले कांग्रेस एक्लै लडेर बहुमत ल्याउने भन्ने कुरा समेट्न महामन्त्रीलाई सुझाव दिएको बताए ।