वीरगञ्ज । आम जनता पार्टी (आजपा) का प्रभु साहले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । आर्थिक अवस्था भयावह छ । देश आर्थिक असफलताको तगारोमा उभिइरहेको छ ।’
मुलुकमा जसले पनि भ्रष्टाचार गर्ने अवस्था देखिएको भन्दै साहले जहाँ जसले पायो उसले लुट्ने जस्तो स्थिति देखिएको बताए । ‘जति जसको पहुँच छ उसबाट त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ’, साहले भने ।
सम्पत्ति लुट्नेहरूले पनि स्याबासी पाइरहेको भन्दै उनले भ्रष्टाचारविरुद्ध जनताले नै सशक्त रूपमा आवाज उठाउनुपर्ने बताए । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको सर्वेक्षणले ६ महिनामा ७ खर्ब रेमिटेन्स आएको देखाएको भन्दै उनले धेरै रेमिटेन्स आउँदैमा खुसी हुनु नपर्ने बताए ।
‘म सोध्न चाहन्छ– ६ वर्ष अगाडि कति युवा विदेश गएका थिए ? अहिले कति विदेश गए ? अहिले कति युवाहरू विदेशमा काम गरिरहेका छन् ? कति युवाले कति कमाउँछन् र तिनबाट कति पैसा आउनुपर्ने हो ? जनतालाई बुझाउन जरुरी छ’, सांसद साहले भने । जिम्मेवारीमा रहेकाहरूबाटै भ्रष्टाचार हुने गरेको उनको भनाइ छ । ‘ठूलो ओहोदाहरू रहेकाहरूले आफू पदमा हुँदासम्म लुट्ने अनि इन्ड हुने बेलामा पिआर र ग्रिन कार्ड लिएर बाहिर जाने ? पहुँचवालाको छोराछोरी पहिले नै पठाइ दिने र देशलाई सोहोरेर आफू जाने ?’ उनले सोधे । बैङ्कले मनोमानी ब्याज लिने गरेको उल्लेख गर्दै सांसद साहले लघुवित्तको विषयमा पनि प्रश्न उठाए । ‘१० करोडबाट सुरु गरेको लघु वित्त पाँच वर्षमा खर्बौँमा पुग्छ । यो कसरी हुन्छ ?’ उनको प्रश्न थियो ।