वीरगंज | नेपालमा उत्पादित चाउचाउ चीनसँगको तातोपानी नाका हुँदै जापान निर्यात भएको छ। मुलुकले ठूलो व्यापार घाटा व्यहोरिरहेको अवस्थामा चीन हुँदै चाउचाउ निर्यात सुरु भएको छ। नेपाल र चीनबीच पारवहन प्रोटोकलमा द्विपक्षीय सम्झौता भएपछि पहिलो पटक चीनको बाटो प्रयोग गरी तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात गर्न सुरु भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द के।सी।ले बताए। तातोपानी नाका प्रयोग गरी पहिलो पटक चीन हुँदै चाउचाउ तेस्रो मुलुक जापान निर्यात सुरु भएको भन्सार कार्यालय तातोपानीले जनाएको छ। सिजी फुड्स प्राइभेट लिमिटेडले उत्पादन गरेको वाईवाई जिङ्ग चाउचाउ जापान पठाइएको हो। अहिलेसम्म नेपाली उत्पादन चीनको बाटो प्रयोग गरी तेस्रो मुलुकमा निर्यात भएको थिएन। तातोपानी भन्सारका अनुसार ११ हजार ७ सय ९१ अमेरिकन डलरबराबर को २४ सय कार्टुन चाउचाउ जापान निर्यात भएको छ। चीनको पोर्ट प्रयोग गरेर तेस्रो मुलुक निर्यात सुरु भए पछि अन्य वस्तुको निर्यात गर्ने बाटो खुलेको छ। नेपाल–चीनबीच २०७६ वैशाख १६ गते पारवहन प्रोटोकलमा हस्ताक्षर भएको भए पनि प्रयोगमा आउन सकेको थिएन। चीनसँग भएको सम्झौता अनुसार नेपालले चीनको चारवटा समुन्द्री र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने सुविधा दिने उल्लेख छ। नेपालबाट तेस्रो मुलुक निर्यात हुने बस्तुहरू भारतीय बन्दरगाह हुँदै जाने गरेका छन्। नेपालले अब चीनका तियान्जेन, सेनजेन, लियानयुगाङ र झाङजियाङ गरी चार वटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सक्ने उल्लेख छ। सुख्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से पनि प्रयोग गर्न सकिनेछ।