वीरगञ्ज । पूर्व राजा ज्ञानेन्द्र शाहले तराई मधेशको उर्वर भूमि उजाड बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वीरगञ्जमा आयोजना गरिएको शाहको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले तराई, पहाड हिमाल सबै क्षेत्र उजाड बन्दै जानु गम्भिर चिन्ताजनक विषय भएको बताए । उत्पादन र कृषिबाटै विकास र समृद्धि ल्याउन सकिने क्षेत्रमा उजाड बन्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ ।
उनले भने, ‘उर्वर मधेश भूभाग आज उजाड बन्दै गइरहेको छ, पोखरी, पानीको स्रोत, ट्युबेल, कुवाँ धारा तथा जल सतह कमजोर बन्दै सुक्खा, खडेरी तथा मरुभूमितर्फ परिणत हुँदै जानु गम्भिर कुरा हो ।’ देशमै रोजगारीको सृजना नहुँदा युवा शक्ति विदेशिन बाध्य भएको शाहले बताए । गरिबीको विदेशिनुपर्ने बाध्यताको अन्त्यका लागि जागरुप हुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘हामी हाम्रा पूर्खाको पौरखलाई नभुलौ । यही आफ्नो जन्मभूमिका लागि मरिमेटौ । हाम्रा समस्या हामी आफैले समाधान गर्नुपर्छ ।’
देशभित्रका प्राकृतिक स्रोत साधन र यहीँका जनशक्तिको सदुपयोग गर्दै विकास गर्नुपर्ने उनको भनाई छ । जातजाति, धर्म, संस्कृतिमा खण्डित नभएर विभेदको, बिखण्डनको र विग्रहको र निषेधको राजनीति गर्न नहुने उनले सुझाव दिए ।
२०५८ सालमा आफ्नो परिवारमा भएको कहाली लाग्दो र सम्झन पनि मन नलाग्ने दुखद घटनाले बिक्ष्पित हुँदाहुँदै पनि आफुले सँधै देशको र देशबासीको भलो चिताएको उनले जिकिर गरे । पुख्र्याैली राज दरबार परित्याग गर्दै गर्दा पनि आफु देशबासीको र देशको हितकै पक्षमा रहेको बताउँदै उनले स्वाभिमानी नेपालीको अहित हुने काम नगर्न आग्रह गरे । व्यक्तिवादी स्वार्थ बढ्दा, राष्ट्र प्रेम र सदायता कायम नहुँदा बेथिती बढ्ने गरेको उनको टिप्पणी छ । यही बेथिती बढेकै कारण अहिले जनतामा आक्रोश उत्पन्न भएको पनि उनले बताए ।
पहिचान र अस्तित्व गुमाएर देशलाई विभाजनको खाडलतिर लैजानेहरुको पहिचान गरी राजनीतिक दल र राजसंस्थाबीच समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यक्ता उनले औँल्याए । सदियौँदेखिको सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो नहुने उनले ठोकुवा गरे । राज्य व्यवस्था, राजनीति, अर्थव्यवस्था र सबैको सुधार हुन जरुरी रहेको उनको भनाई छ ।
नागरिक अभिनन्दनमा पूर्व रानी कोमल शाह लगायत राजावादी संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिसँगै समर्थकहरुको उपस्थिती रहेको थियो । पशुपति विक्रम शाहले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण हिरा बहादुर चन्दले गरेका थिए ।