वीरगंज । ओखलढुंगामा उत्पादन गरिएको इन्टरलक इँटाको माग बढेको छ । मोलुङ गाउँपालिकाको रामपुरमा रहेको इँटा उद्योगबाट उत्पादित इँटा जिल्लाभित्र र सोलुखुम्बुमासमेत निर्यात हुन थालेको हो ।
इन्टरलक इँटाबाट निर्माणको काम सजिलो हुने र लागत कम पर्ने भएकाले ग्राहकको रोजाइमा पर्न थालेको हो । इञ्जिनियरिङ पढेका दुई युवाहरुले करिब २५ लाख रुपैयाँको लगानीमा इन्टरलक इँटा उद्योग संचालन गरेका हुन् ।
इँटा आकारको आधारमा प्रतिगोटा २५ रूपैयाँ र ५० रूपैयाँमा बिक्री हुँदै आएको इँटा सञ्चालक सन्तोष कार्कीले बताएका छन् । यस इँटा उद्योगबाट अहिले दैनिक ६ सयदेखि ९ सय गोटा इटा उत्पादन हुँदै आएको छ । स्थानीय माटो, बालुवा र सिमेन्ट मिसाएर बनाइएको इन्टरलक इँटा सामान्य इँटा भन्दा बलियो हुने दाबी पनि उद्योग संचालकको छ । यस इँटा उद्योगमा ६ जनाले रोजगारी पाएका छन् ।