जनकपुरधाम । भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा भएको दिन जनकपुरधाममा भारी उल्लास देखियो । बेहुली झैँ सिंगारिएको जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्ज्वलन गर्न सयौं श्रद्धालु भक्तजन र युवायुवतीहरु सबेरै देखि जुटेको देखियो । जानकी मन्दिरमा फूलले रंगोलीहरु बनाइए। भगवान रामको ससुराली जनकपुरधाम भएकाले यहाँका बासिन्दाहरु हर्षोल्लाससाथ मनाईरहे ।
भारतको अयोध्यामा मध्यान्ह भगवान रामको प्राण प्रतिष्ठा गरिएको छ । अयोध्यामा आयोजित विशिष्ट समारोहमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव सीताको पिता जनकको रुपमा सहभागी भए। अयोध्याबाट रामजानकी विवाहमहोत्सवमा रामका पिताको रुपमा सन्त आउने गर्छन् । त्रेता युगदेखि नै जनकपुरधाम र अयोध्याधामबीच रोटीबेटीको सम्बन्ध रहीआएको छ । नेपाल र भारतबीचको धार्मिक सम्बन्धले मित्रतालाई प्रगाढ बनाउँदै आएकोछ । नेपाल र भारतबीचको सम्बन्धलाई सीता र रामबीचको वैवाहिक सम्बन्धले मनमनमा स्थापित गरेको जानकी मन्दिरका पुजारी ऋषिकेश दासले बताए ।
हरेक वर्ष यहाँ मनाइने रामजानकी विवाहमहोत्सव र अयोध्यामा आयोजना हुने धार्मिक कार्यक्रमहरुले त्रेता युगकालीन सम्बन्धलाई जीवन्त बनाइरहेको उनको कथन छ । जय श्रीरामको नारा लगाउँदै सोमवार दिनभरि नै पटक पटक निकालिएको शोभायात्राले जनकपुरधाम गुञ्जयमान बन्यो । नगर क्षेत्रसँगै ग्रामीण भेगका घर र पसलहरुमा भगवान रामको झण्डा फहराइएको छ । मोटरसाइकल लगायतका सवारी साधनहरुमा भगवान रामको झण्डा लगाइएको छ ।
चीरकालको प्रतीक्षापछि अयोध्यामा भगवान रामको मन्दिर निर्माण र प्राण प्रतिष्ठा सम्पन्न भएको छ । मिथिलावासीमा भगवान रामको गृह निर्माणले अद्भूत खुशी देखिएको छ । जानकी मन्दिरका महन्त प्राण प्रतिष्ठामा सहभागी हुन अयोध्या पुगेका बेला पुजारीहरुले मन्दिरलाई विशेष रुपमा सिँगारियो । ऋषिकेश दास लगायतका सन्तहरु विशेष पूजा गर्दै उत्सव मनाए ।
त्रेता युगमा भगवान सीतारामको विवाह सम्पन्न भएदेखि हालसम्म जनकपुरधाममा विवाहमहोत्सवलाई भव्यताका साथ मनाइँदै आएको छ ।
जनकपुरधाम र अयोध्याधामबीचको सम्बन्ध अलौकिक रहेको स्थानीय सन्त विश्वनाथ शुक्ला बताउँछन् । उनी भन्छन्– ‘नेपाल र भारतको उदय हुनु पूर्व नै मिथिला र अयोध्याबीच रोटीबेटीको सम्बन्ध स्थापित भएको हो ।’ त्रेतायुगकालीन सम्बन्धलाई नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, भाषिक, भौगोलिक, भेषभूषा लगायतको समानताले अझ प्रगाढ बनाएको उनको कथन छ ।