अन्तर्राष्ट्रिय व्यापारिक मार्ग लाल सागर तनावग्रस्त हुँदा एसिया–युरोपको व्यापार महँगिन थालेको छ । इजरायलले गाजामा आक्रमण गरेको प्रतिकारमा हुथी विद्रोहीले लाल सागरमा पानीजहाजमाथि आक्रमण गरिरहेको छ । हुथीविरुद्ध अमेरिका, बेलायतलगायतले आक्रमण थालेपछि लालसागर तनावग्रस्त छ । गाजाका निहत्था नागरिक नरसंहारको सिकार बनिरहँदा त्यसको प्रभाव लाल सागरतर्फ पुगेर विश्व–व्यापार प्रभावित बन्न थालेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
लाल सागर र भूमध्यसागर जोड्ने स्वेज नहर हुँदै विश्वको झन्डै १२ प्रतिशत व्यापार हुन्छ । आन्ध्र महासागरदेखि पश्चिम एसियासम्म फैलिएको भूमध्यसागरले युरोपलाई अफ्रिकासँग छुट्याउँछ ।
त्यस्तै इजिप्टको स्वेजदेखि एडेनको खाडी हुँदै अरब सागरसम्म फैलिएको लाल सागरले इजिप्ट, सुडानलगायत अफ्रिकी देशलाई पश्चिम एसियाका साउदी अरब र यमनबाट छुट्याउँछ । यमनमा आश्रय लिइरहेका हुथी विद्रोहीले स्वेज नहर हुँदै लाल सागरमार्फत युरोपबाट एसिया पुग्ने जहाजमा रकेट र ड्रोन आक्रमण गर्ने गरेका छन् । अहिलेसम्म मानवीय क्षति नभए पनि लाल सागरमा हुथी आक्रमणमा परेर केही जहाज क्षतिग्रस्त भएका छन् । अमेरिकी जलसेनाले थुप्रै ड्रोन र मिसाइल नष्ट गरेकाले क्षति कम भए पनि यो प्रत्याक्रमण महँगो भइरहेको छ ।
लाल सागरको तनावले सामान ओसार्ने जहाजले सिङ्गो अफ्रिका घुम्दै यात्रा गरिरहेका बीबीसीले जनाएको छ । यसका कारण एसियादेखि युरोपसम्म सामग्री ओसारपसार गर्ने भाडा ३ गुणा महँगिएको छ ।