वीरगंज । नेपाली सेनाले सैनिक प्रदर्शनीका लागि जंगीअड्डामा राख्नका लागि ट्रकमा राखेर जंगीअड्डामा हेलिकोप्टर पुर्याएको छ । ९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका लागि ट्रकमा राखेर होलिकोप्टर जंगीअड्डासम्म लगिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले अनलाइनखबरलाई बताए ।
उनका अनुसार, नेपाली सेनाको जंगीअड्डाले यस्तो प्रर्दशनी वर्षेनि गर्दै आएको छ । ‘चलिरहेको हेलिकोप्टर नै ल्याउने कि भन्ने थियो, तर बीचमा तत्काल केही समस्या परेर कतै लानु पर्यो भने प्रदर्शनीस्थलबाट निकाल्न गाह्रो हुने भएकाले मर्मतमा रहेको हेलिकोप्टर लगिएको हो’, भण्डारीले भने, ‘कलसाइन एनए ०३३ को यो हेलिकोप्टरको केही पार्टस् मर्मतका लागि पठाइएको छ ।’
प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्ने प्रदर्शनीमा बिहान १० बजेबाट सुरु भएर साँझ ५ बजेसम्म चल्नेछ । ‘उद्घाटन चाहिँ २ बजे हुँदैछ, अरु दिन १० देखि ५ बजेसम्म कार्यक्रम हुनेछ’, भण्डारीले भने ।