वीरगंज | गायक योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ।गएराति स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लाने क्रममा राति करीब साढे १२ बजे उनको निधन भएको हो। वैद्यले ‘सपना भुलाई सारा आँसु पिएर जाऊ’, ‘चोट दिलमै रातदिन’, ‘आँखैमा रात’, ‘नेपाल मेरो तिमीलाई’ लगायत थुप्रै लोकप्रिय गीत गाएका छन्। नेपाली सहित नेपालभाषामा पनि उनले गीत गाएका छन्।
विसं २००३ मा नरदेवीमा जन्मिएका वैद्यले राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार प्राप्त गरेका छन्। वैद्य सेवानिवृत्त सरकारी कर्मचारी पनि हुन्।
गायक वैद्यको केही समयअघि मिर्गौला समेत प्रत्यारोपण गरिएको थियो भने उनी केही समयदेखि पक्षाघात सम्बन्धी समस्या समेत झेलिरहेका थिए।
उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि केही समय नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपतिनाथस्थित आर्यघाटमा उनको अन्त्येष्टि गरिने बताइएको छ।
उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।