जनकपुर । जनकपुर भन्सार कार्यालयले सुरक्षाकर्मीले नियन्त्रणमा लिई बुझाएका गाडीहरु समयमा लिलाम गर्न नसकेपछि कबाडमा परिणत हुँदै गएको छ ।
सडकमा नियमविपरीत गुडेका, लामो समयदेखि भन्सार नकाटिएका, बेबारिसे अवस्था फेला परेका चोरीलगायत गाडीहरु समयमा लिलामी गर्न नसकेका कारण घामपानीले नासिँदै कबाडमा परिणत हुँदै गएको हो । भन्सार कार्यालयको परिसरमा दुई वर्षभन्दा लामो समयदेखि बेबारिसे अवस्थामा राखिएका दुई सयभन्दा बढी मोटरसाइकल र आठवटा चारपांग्रे गाडीको खिया लागेर मोल घट्दै गएको हो ।
गाडीहरुको मूल्याकंनको काम भइरहेको र अब चाँडै प्रक्रिया सुरु गरिने भन्सार कार्यालयले जनाएको छ । गाडीहरुको लिलामी भएमा एक करोडभन्दा बढी राजस्व उठ्ने अनुमान छ ।