वीरगञ्ज । माघ ८ गते भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा नवनिर्मित श्री राम मन्दिरमा प्राण-प्रतिष्ठा हुँदै छ । त्यही दिन वीरगञ्जमा पनि श्री रामजानकी मन्दिरमा प्राण-प्रतिष्ठाको तयारी गरिएको छ । मन्दिर पुनर्निर्माण भइरहेको छ । वीरगञ्ज महानगरपालिका – १० घडिअर्वास्थित श्री रामजानकी मन्दिर सात दशक भन्दा बढी समय एकाध व्यक्तिले कब्जा गरेका थिए । मन्दिरलाई वीरगञ्ज महानगरपालिका मातहत ल्याउने काम भएपछि २२ जनवरी अर्थात् माघ ८ गतेकै मिति पारेर प्राण-प्रतिष्ठा गर्न लागिएको हो ।
वीरगञ्ज महानगरपालिकाद्वारा श्री रामजानकी मन्दिरका लागी भगवान् श्री राम र माता सीताको मूर्तिको प्राण-प्रतिष्ठा हुने भएको छ । सोही प्राण-प्रतिष्ठाको लागी भारतबाट भगवान् भगवान् श्री राम, भगवान् लक्ष्मण र माता सीता र भगवान् हनुमानको मूर्ति समेत ल्याइएको छ ।
नवनिर्मित श्री रामजानकी मन्दिर वीरगञ्जमा हिन्दु धर्ममा आस्था राख्नेहरूका लागि मात्र नभएर सबैको साझा धरोहर बनाउने काममा वीरगञ्ज महानगरको नेतृत्वमा आएका नगर प्रमुख राजेशमान सिंहले अगुवाइमा भइरहेको छ । प्राण-प्रतिष्ठाको दिन महानगर क्षेत्र भित्र पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछा, मासुको बिक्री वितरणलगायत कार्यमा समेत रोक लगाइएको छ । बुधबार एउटा सूचना जारी गर्दै निर्देशन नमान्नेलाई कारबाही गर्ने महानगरले चेतावनी समेत दिएको छ ।
सूचनामा भनिएको छ, ‘उक्त दिन वीरगञ्ज महानगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछा, मासुको बिक्री वितरणलगायतका कार्यहरू नगरिदिन यहाँका सबै सरोकारवाला व्यवसायीलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।’