वीरगंज | राष्ट्रिय वाणिज्य बैंक (रावा)ले सेयरधनीलाई ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाको १८औँ वार्षिक साधारणसभाले लाभांशसहित आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावसमेत पारित गरेको बताइएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले बैंकले आफ्ना सेवा–सुविधामा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरूका माध्यमबाट ग्राहकसमक्ष आफ्ना गुणस्तरीय सेवा प्रवाह गर्ने बताए ।
बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिष्कृत गरी सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिहरूको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समयसापेक्ष सुदृढीकरण गर्नेसम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रूपमा अगाडि बढाइएको पनि बताए ।
बैंकका हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा दुई सय ८५ वटा शाखा कार्यालय, ७० वटा एक्सटेन्सन काउन्टर, तीन सयवटा एटिएम र एक सय दुईवटा शाखारहित बैंकिङ रहेका छन् ।