वीरगंज । सशस्त्र प्रहरीले पर्साबाट १६८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।
वीरगंजबाट ठोरी जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीबाट सशस्त्र प्रहरीले १६८ किलोग्राम गाँजासहित गाडीका चालक र सहचालकलाई पक्राउ गरेको हो।
पर्साको जगरनाथपुर गाउपालिका वडा नम्बर ४ सुपौलीमा सशस्त्र प्रहरीले उक्त गाडी रोकेर चेकजाँच गर्दा गाडीभित्र फल्स बटम बनाई लुकाएर राखिएको १६ वटा पोकामा रहेको १६८ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए।
गाँजासंगै उक्त गाडीका चालक २० वर्षीय समिर तमाङ्ग र सहचालक २२ वर्षीय राजु लामालाईपनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।उनीहरूको साथबाट नगद ७८ हजार ५ सय रुपियाँँ र २ थान मोबाइलपनि बरामद गरिएको श्रेष्ठले जानकारी दिए।
बरामद गाँजासहित गाडी र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाईका लागि नेपाल प्रहरीलाई जिम्मा लगइएको श्रेष्ठले बताए।