विराटनगर। माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्कीले मनोनयन दर्ता गर्नुभएको छ । विराटनगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा दिउसो १२ बजे सम्म दुई जनाको उम्मेदवारी दर्ता भएको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले जनाएको छ ।
कोशी प्रदेशमा एक जना महिला र एक जना अन्य गरी दुई जना सदस्यका लागि हुन लागेको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट अन्य तर्फ नेपाली कांग्रेस र महिला तर्फ नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भएको थियो ।
नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसका प्रदेश सांसद प्रदीप सुनुवार प्रस्तावक र काग्रेस कै प्रदेश सांसद हिमाल कार्की समर्थक बसेर उम्मेदवारी दिनुभएको छ ।
यसैगरी चम्पादेवी कार्कीलाई माओवादी केन्द्रका प्रदेश सांसद गणेश प्रस्तावक र नेपाली कांग्रेसका प्रदेश सांसद रामकुमार खत्री समर्थक बस्नु भएको छ ।
उम्मेदवारी दर्ता पछि संचारकर्मीहरु संग कुरा गर्दै नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफ्नो उम्मेदवारी मापदण्ड अनुसार नै सर्वसम्मत भएको जानकारी दिनुभयो । उहाँले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै एक जुट भएर लाग्नुपर्ने बताउनु भयो ।
कोशी प्रदेशमा नेपाली कांग्रेसको ३७२२, एमालेको ४२१०, नेकपा माओवादी केन्द्रको १२७८, नेकपा एकिकृत समाजवादीको ३४५, जनता समाजवादी पार्टीको १२९, राप्रपाको ३९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ । कुल १०१३५ मतभार रहेको कोशी प्रदेशमा वर्तमान गठबन्धन अनुसार नै मतदान भएमा सत्तारुढ गठबन्धनले ५४७४ मतभार पाउने, एमालेले ४२१० र राप्रपाले ३९४ मतभार पाउने देखिन्छ ।अहिले सम्म सत्तारुढ गठबन्धनबाट दुई जना, नेकपा एमालेबाट दुई जना र राप्रपाबाट अन्य तर्फ गरी ५ जनाको उम्मेदवारी दिने बताइएको छ ।।