वीरगंज । प्रहरीको गोली प्रहारबाट मारिएका युवाहरुको न्यायका लागि अछाम र दैलेखका जनप्रतिनिधिहरु छलफलमा जुटेका छन् । दुबै जिल्लाका जनप्रतिनिधिहरु अहिले पाटन अस्पतालमा छन् । कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राखेर आन्दोलित भएका युवाहरुले शुक्रबार काठमाडौंमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि बढेको भिड थेग्न नसकेर प्रहरीले चलाएको गोली लागेर अछामको चौरपाटी गाँउपालिका १ सिउडीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो।
उनीहरुको शव पाटन अस्पतालमा राखिएको छ। त्यहाँ जम्मा भएका अछाम र दैलेखका जनप्रतिनिधिहरुले मृतकको न्यायका लागि पीडित परिवारलाई उचित क्षतिपूर्ती र दोषिमाथि कारबाही गरिनुपर्ने लगायतका विषयमा छलफल चलिरहेको पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एंव अछाम क्षेत्र नम्बर १ का संघीय सांसद शेरबहादुर कुँवरले बताए।
उनका अनुसार पीडित परिवारसँग उनीहरुका मागबारे छलफल गरेर मात्र सरकारसँग वार्ता गर्ने टुंगोमा दुबै जिल्लाका जनप्रतिनिधिहरु पुगेका छन् । पीडित परिवारले भने बमोजिमका उचित माग बारे साझा धारणा बनाएर सरकारसँग वार्ता गर्ने बारे कुराकानी भएको सांसद कुँवरले बताए।
पाटन अस्पतालमा अहिले सांसद कुँवरसहित अछाम क्षेत्र नम्बर २ का संघीय सांसद पुष्पबहादुर शाह, पुर्व राज्यमन्त्री गोबिन्द बहादुर शाह, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज कुलबहादुर कुँवर र कांग्रेस नेताहरु रामबहादुर बिष्ट, टिकारम खनाल, नृप साउदलगायत दैलेख जिल्लाका जनप्रतिनिधि र नेताहरु संयुक्त रुपमा छलफल गरिरहेका छन् ।