नेपालबाट जलविद्युतसम्बन्धी अध्ययन गर्न भारत गएको टोलीले हिमाञ्चल प्रदेशको झाकडीग्रामस्थित सतलज नदीमा एसजेबिएन लिमिटेडद्वारा निर्मित भारतकै सबैभन्दा ठूलो १५०० मेगावाट क्षमताको नाथपा झाकडी जलविद्युत् स्टेसनको स्थलगत अवलोकन गरेको छ।
नाथपा झाकडी जलविद्युत् स्टेसनका कार्यकारी निर्देशक मनोज कुमारले नेपालबाट गएका इन्जिनियर सूर्यनारायण मण्डलसहितको टोलीलाई बिहीबार सम्मानसमेत गरेका छन्। एसजेबिएनले नेपालमा ९०० मेगावाटको अरुण तेस्राे जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। भारतको सतलज नदीमा मात्रै ६ वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कार्यकारी निर्देशक मनोज कुमारले दिएको जानकारीअनुसार सतलज नदीका विभिन्न स्थानमा करचव वाँचु जलविद्युत् स्टेसन १२०० मेगावाट, नाथपा झाकडी १५०० मेगावाट, रामपुर जल विद्युत स्टेसन ४१२ मेगावाट, कोलडैम तत्तापानी जलविद्युत् स्टेसन ८०० मेगावाट सञ्चालन भइसकेको छ । सतलज नदीमै निर्माण भइरहेको लुहरी जलविद्युत् स्टेसन २१० मेगावाट र सुन्नी जलविद्युत् स्टेसन ३८२ मेगावाटसहितका आयोजना एक वर्षभित्र सञ्चालन हुने उनले जानकारी दिए ।
भ्रमण टोलीलाई स्वागत गर्दै कार्यकारी निर्देशक मनोज कुमारले भारत र नेपालबीच भएको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना र एक हजार ६१ मेगावाटको अपर अरुण जलविद्युत् आयोजना सञ्चालन भएपछि नेपाल–भारत दुवै देशलाई समान लाभ हुने बताए।‘नेपाल विद्युत् विकासका दुईवटा पाटा छन् । एउटा, नेपाललाई तत्काल चाहिने अधिकतम २५०० मेगावाट विद्युत् उत्पादन र अर्को ठूला जलविद्युत् आयोजना निर्माण गरेर सस्तो दरमा भारत र बंगलादेशसँग विद्युत् बेच्ने विषय’ उनले भने, ‘नेपालले भारतको सहयोगमा एसजेबिएनद्वारा अरुण तेस्रो आयोजना निर्माणमा देखिएको जग्गा मुआब्जा समस्यालाई तत्काल समाधान गर्न पहल गर्नुपर्ने आवश्यकता छ ।’
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजना, १०६ मेगावाटको कुलेखानी जलविद्युत् आयोजना, १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजना गरी साना ठूला विभिन्न नदीहरूमा एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनाबाट वर्षाको मौसममा करिब २३ सय मेगावाट र जाडोको समयमा १२ देखि १३ सय मेगावाट विद्युत् उत्पादन भइरहेको नेपाली इन्जिनियर सूर्यनारायण मण्डलले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरी प्रस्ताव गरेकोे १०६१ मेगावाटको अपर अरुण जलविद्युत् आयोजना, ८११ मेगावाटको उत्तरगंगा जलविद्युत् आयोजना, ६३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना, २१० मेगावाटको चयनपुर सेती जलविद्युतसहितका आयोजना निर्माणमा निर्णय लिनुपर्ने मण्डलले बताए।