वीरगञ्ज । हरिखेतान बहुमुखी क्याम्पसका नवनिर्वाचित क्याम्पस प्रमुख किशोरी रायले क्याम्पसलाई निजीकरण गर्न नदिने जिकिर गरेका छन् । वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्टमा शनिवार आयोजित नवनिर्वाचित क्याम्पस प्रमुखको स्वागत तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै रायले क्याम्पसको विषयमा छरिएका विभिन्न भ्रमलाई चिर्ने बताए । उनले भने, ‘हामी विधी र विद्यानमा आधारित रहेर काम गर्छाै । क्याम्पसलाई समुदायले अपनत्वको आभाष दिलाउनेमा कुनै कसर बाँकी छोड्ने छैन ।’
हरिखेतान बहुमुखी क्याम्पसले सँधै जस्तै शैक्षिक गुणस्तरलाई बृद्धि गर्ने लक्ष्यका साथ पठनपाठन गराउँदै आएको रायको भनाई छ । आफुलाई विश्वास गरी सञ्चालक समितिले दिएको जिम्मेवारी ईमानदारीपूर्वक बहन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । क्याम्पसको सुधार गर्ने कार्यबाट बिमुख भएमा त्यही दिन राजीनामा दिने पनि उनले बताएका छन् ।
क्याम्पस सञ्चालक समितिका सदस्य डा. रामअवतार खेतानले उद्देश्अनुरुप क्याम्पसलाई सञ्चालन गर्न नवनिर्वाचित प्रमुखलाई आग्रह गरे । उनले भने, ‘यो क्याम्पस बिना स्वार्थ बिशुद्ध रुपमा गरिब विपन्न विद्यार्थीहरु उच्चशिक्षाबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले खोलिएको हो । त्यो उद्देश्यलाई पूरा गर्न राम्रोसँग सञ्चालन गर्नुहोस्, हामीलाई कुनै नाफा चाहिएको छैन ।’ साथै उनले सञ्चालक समितिकै सदस्यहरुका सन्तानलाई पढ्नका लागि निशुल्क हुनुपर्ने व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।
सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले क्याम्पसलाई नवक्याम्पस प्रमुखले विधि विद्यानमा आधारित रहेर सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा क्याम्पसका प्राध्यापक रामप्रसाद चापागाईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सञ्चालक समितिका सदस्य डा. रामअवतार खेतानकै अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पत्रकार कन्हैयालाल केशरी, यात्रा डेलीका प्रबन्ध निर्देशक राम सर्राफ, कान्तिपुर दैनिकका उपसम्पादक शंकर आचार्य लगायत सञ्चालक समितिका सदस्यहरु, क्याम्पसका प्राध्यापक, सहप्राध्यापक, शिक्षक, शिक्षिका लगायतको उपस्थिती रहेको क्याम्पसका क्यु ए ए प्रमुख मुक्त कुमार भुसालले जानकारी दिए ।
कार्यक्रमको सहजीकरण क्याम्पसका शिक्षक दिलिप सिंहले गरेका थिए ।