वीरगंज । सिरहा नगरपालिकाले शैक्षिक गुणस्तरका लागि विभिन्न योजना अघि सारेर काम गरेको छ । नगरपालिकाले विद्यालय तथा विद्यार्थीको शैक्षिकस्तर वृद्धि गरी नजिता सुधारका लागि ‘कोचिङ कक्षा’को सञ्चालन गरेको हो ।
नगरपालिकाको तीन वटा विद्यालयमा अतिरिक्त कक्षा सञ्चालनका लागि नगरपालिकाले बजेट नै विनियोजन गरेको छ । कक्षा १० को एसईई र कक्षा १२ को परीक्षा दिने विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिएको छ ।
सिरहा सदरमुकामा रहेको बाल मन्दिर मा.वि. सिरहा, वडा नम्बर १७ मा रहेको ब्र.झ.ज.उ.मा.वि. माडर र वडा नम्बर १८ मा रहेको जनता मा.वि. लक्ष्मीनियाँमा अतिरिक्त कक्षा सञ्चालन गरिने मेयर डा. नविन कुमार यादवले जानकारी दिएका छन् । “नगरभित्रका विद्यालयमा आशातित नजिता आउन सकेको छैन”, मेयर डा. यादवले भने, “सामुदायिक विद्यालयको खस्कदो नजितालाई सुधार्न अतिरिक्त कक्षाको व्यवस्था गरेका हौं ।”
आउँदो कक्षा १० को एसईई र कक्षा १२ को परीक्षाका लागि विनियोजित बजेट खर्च हुनेछ । ‘शिक्षामा राजनीति नहुने हो भने सामुदायिक विद्यालयहरू अझै पनि राम्रो बनाउन सकिन्छ,’ मेयर डा यादवको भनाइ छ ।
कोचिङ उद्घाटन समारोहमा सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादव, प्रमुख प्रशासकिय अधिकृत बलिराम यादव, प्रध्यापक, शिक्षक, संचारकर्मी, विद्यार्थीहरु लगायतको पनि सहभागिता रहेको थियो ।