रौतहट । रौतहटको विभिन्न पालिकामा घर भई लामो समय देखि भारतको मुम्बई स्थित बालगृहमा रहेको ८ जना बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । स्थानीय दुर्गाभगवती गाउँपालिका, ईसानाथ र राजपुर नगरपालिका लगायत स्थानीय तहका ८ बालकहरूलाई शनिवार अभिभावकको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरीको रोहवरमा बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो। विगत करिब ४ महिनादेखि भारतको मुम्बईस्थित बालगृहमा ती बालबालिका राखिएको थियो l उद्धार गरी अभिभावकको जिम्मा लगाइएका बालकहरू १३ देखि १६ वर्षा उमेर समूह रहेका थिए ।
विभिन्न बहानामा भारतको मुम्बई पुगेका ति बालकहरू विभिन्न ब्याग फ्याक्ट्रीहरुमा काममा लगाइएको थियो l मुम्बई प्रहरीले ब्याग फ्याक्ट्रीमा छापामारी गर्दै ती बालकहरूको उद्धार गरेको थियो l उद्धार पछि ती बालकहरूलाई मुम्बईमा रहेको बाल गृहमा राखिएको थियो l १८ वर्ष उमेर नपुगे सम्म बालबालिकालाई काममा लगाउनु गैर कानुनी रहेकोले प्रहरीले विभिन्न कारखानाहरूमा कारबाही गर्दै आएको छ । नेपालका बालकहरू बाल गृहमा फसेको सूचना पाएपछि बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूको संयुक्त प्रयासमा ती बालकहरूलाई परिवारको जिम्मा लगाइएको छ। ग्रामीण विकास केन्द्र नेपाल गौर, सामुदायिक विकास तथा सचेतना नेपाल मकवानपुर, राष्ट्रिय बाल अधिकार परिषद्, र जिल्ला स्थितका सरकारी निकायहरूको समन्वयमा ती बालकहरूको उद्धार गरिएको थियो ।
उद्धारको क्रममा मुम्बई पुगेकी ग्रामीण विकास केन्द्र नेपाल रौतहटका कोषाध्यक्ष ममता झाले बालकहरूलाई परिवारको जीमा लगाउन पाउँदा निकै खुसी लागेको बताइन्। आफ्नो छोरा पाएपछि स्थानीय दुर्गाभगवती गाउँपालिका वार्ड ३ मत्सरीका प्रमोद राउत अब उप्रान्त आफ्नो छोरालाई विद्यालयमा भर्ना गर्ने प्रतिबद्धता जनाएका थिए ।