वीरगंज | रौतहट र सर्लाही जिल्लाको बीचबाट बग्ने बागमतीमा दैनिकजसो करेन्टबाट माछा मार्नेहरूको भिड नै लाग्ने गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका- १ बागमती खोलामा करेन्टको प्रयोग गरी माछा मार्नेहरूको भिड बिहानैदेखि लाग्ने गरेको छ।
खोलामा बिहानैदेखि पिठ्युँमा ब्याट्री र तार बोक्ने र अन्य दुई–चारजना सँगै जाल थाप्नेको हुल खोलाभरि नै देखिने गरेको प्रत्यक्षदर्शी बताए। करेन्ट लगाएर माछा मार्दा अन्य जीवहरूको पनि मृत्यु हुने हुँदा यसलाई गैरकानुनी कार्य मानिन्छ। तर, बागमतीमा बिहानैदेखि करेन्टद्वारा माछा मार्नेहरूको भिड हुँदासमेत स्थानीय प्रशासनले बेवास्ता गर्दै आएको छ।
यसरी करेन्टको प्रयोगले नदीका जीवलाई खतरामा पार्ने स्थानीय समाजसेवी समीर कार्कीले बताए। ‘हामीले नदीमा करेन्ट प्रयोग सधैँका लागि बन्द हुनुपर्छ भनेका हौँ,’ उनले भने, ‘केही समय रोकिन्छ। सम्बन्धित निकायले चासो देखाउन छाडेपछि फेरि सुरु हुन्छ।’
रौतहट र सर्लाहीका प्रहरी चौकी र वन कर्मचारीकै अगाडि करेन्ट लगाएर माछा मार्नेको संख्या बढ्दै जाँदासमेत वन र प्रहरीले त्यसतर्फ चासो नदिएको स्थानीय लक्ष्मण न्यौपानेले बताए।