वीरगंज | पर्सामा ४९ वटा विभिन्न मानव अधिकारका उल्लंघनका घटनाहरु भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पर्सामा संकलन गरिएका मानव अधिकार उल्लघंन घटनाहरुको पुस्तक प्रकाशनमा यो तथ्य सार्वजनिक गरिएको हो ।
इन्सेक पर्साका प्रतिनिधि शम्भु कुमार सुमनले प्रस्तुत गरेको प्रतिवेदनमा एक वर्षको अबधिमा परिवारजनबाट ३ महिला र दुई पुरुषको हत्या, १३ बालिका र ९ महिला गरी २२ बलात्कारको घटना भएको, १२ वहुविवाह, ३ महिला वेचविखन, एक बलात्कार प्रयास तथा आत्म हत्या दुरुत्साहन, एक कथित बोक्सीको आरोपमा अमानविय व्यवहार लगायतका मनाव अधिकार उलंघनको घटना भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले मानव अधिकारको विषय बहुयामिक भएको वताए । उनले इन्सेकको प्रतिवेदनले समग्र जिल्लाको अवस्था देखाएकोले यस तर्फ हामी सबैको ध्यान जानु पर्ने जरुरी रहेको वताए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले मानवअधिकारको सवालमा राज्य उदासिन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस कार्यान्वयन नहुनु दुःखद भएको बताउनुभयो । उनले यसको नियन्त्रणमा राज्यको लापरवाही देखिएको वताउँदै यसमा गम्भिर हुनु पर्ने धारणा राखे । मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गरेको भन्दै इन्सेकले गरेको कामको प्रशंसा समेत गर्नुभयो ।
इन्सेक पर्साका पूर्व प्रतिनीधि एवम् पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारमहासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा,गैसरकारी संस्था महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापा,दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरी, महिला अधिकारकर्मी लक्ष्मी कुमारी उप्रेती, बृजलाल पासवान लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।