वीरगंज । आज पुस १ गते । अर्थात् प्रथम जननिर्वाचित सरकारमाथि ‘कु’ गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्री बिपी कोइरालासहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन । नेपालका राजनीतिक दलहरूले नेपाली कांग्रेस, नेकपा एमाले लगायतले आजको दिनलाई कालो दिनका रूपमा स्मरण गर्दै आएका छन् । विसं २०१७ पुस १ गते राजा महेन्द्रले तत्कालीन नेपाली कांग्रेसको बहुमतको पहिलो जननिर्वाचित सरकारमाथि कु गरी नेतालाई सेनाको बलमा बन्दी बनाएर निर्दलीय पञ्चायती शासन सुरुआत गरेका थिए । पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला नेता प्रधानमन्त्री बिपी कोइराला लगायतका नेताहरूलाई पक्राउ गरी सिंहदरबारमा तीन महिना र सुन्दरी जलको बन्दी गृहमा लामो समय थुनिएको थियो ।
बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दी गृहमा थुनिएको थियो। प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी एकतन्त्रीय पञ्चायती शासन व्यवस्था लागू गर्ने महेन्द्रको उक्त कदमपछि मुलुकमा लामो समयसम्म निर्दलीय व्यवस्था कायम रह्यो। दलहरूमाथि प्रतिबन्ध लाग्यो। वाक स्वतन्त्रता हनन हुन पुग्यो। महेन्द्रको उक्त कदमले प्रजातन्त्रको घाँटी निमोठिएको भन्दै नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टीहरूले विरोध गरेका थिए ।
अहिलेका राजनीतिक दलहरूले पुस १ को कदमलाई जनअधिकार खोसिएका दिनका रूपमा सम्झिने गरेका छन्। तर, राजावादीहरूले भने अहिले पनि पुस १ लाई युगान्तकारी परिवर्तनका रूपमा लिने गर्छन् । पुस १ को सन्दर्भमा श्री ५ महेन्द्र चीर स्मरण समितिले महेन्द्रको कदमले नेपाललाई बाह्य हस्तक्षेपबाट जोगाएर विकास निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको दाबी गरेको छ । उसले “पुस १ को कदम कांग्रेस विरुद्ध लक्षित नभई भारतीय हस्तक्षेपका विरुद्ध भएको” प्रस्टाएको छ । कांग्रेस नेतृत्वको तत्कालीन सरकारले नेपालमाथि बाहिरी हस्तक्षेप स्वीकार गरेका कारण पुस १ को कदम निम्तिएको समितिले बताएको छ । मुलुकको सुदृढ एकता र बाह्य हस्तक्षेपबाट मुलुकलाई मुक्त गर्न यस्तो कदम चालिएको उसको जिकिर छ ।
समितिले राष्ट्रभन्दा माथि कुनै राजनीतिक दल नहुने भन्दै पुस १ नेपालको राष्ट्रियताको इतिहासमा अजर अमर रहने बताएको छ । राष्ट्रियताका मामिलामा राजा महेन्द्रले महान् योगदान गरेको भन्दै उसले पुस १ को कदम कांग्रेस विरुद्ध लक्षित नभई भारतीय हस्तक्षेपका विरुद्ध भएको प्रस्टाएको छ ।
राजा महेन्द्रको सक्रिय शासनकाल चार अर्ब मात्र रकम खर्च गरेर महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, सिद्धार्थ राजमार्गलगायत अनेकौँ राजमार्गहरु, ५० औँ उध्योग निर्माण भएको, नेपालमा भूमिसुधार, राज्य रजौटा,बिर्ता उन्मूलनजस्ता क्रान्तिकारी कदम चालेर रक्तपात बिना सबैलाई चित्त बुझाई शोषणरहित समाज सृजना गराउँदै मानवीय कार्यहरू लागू गरेको भन्दै समितिले महेन्द्रलाई युगान्तकारी युग पुरुषको उपमा दिएको छ ।
०१७ सालपछि जातिपाति, छुवाछुत, लिंगभेदजस्ता रोगहरूबाट देशलाई मुक्त गराएर नयाँ मुलुकी ऐन जारी हुनु, असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्बन गरेर संयुक्त राष्ट्र सङ्घमा नेपालको अगुवाइ गर्नु,आधुनिक चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमन्त्री जवाहरलाल नेहरु सन्तुलित मित्रता कायम गर्न सकेर नेपालको प्रभाव राख्नुलाई महेन्द्र कालको महत्त्वपूर्ण उपलब्धिका रूपमा समितिले लिएको छ ।