वीरगंज | आफ्नै श्रीमानको नक्कली कान्छी आमा बनेर ससुराको नाममा सरकारी पेन्सन खाँदै आएकी एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्सा जिल्लाको बहादुरमाई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष जीतेन्द्र पटेलले अधिकार दुरुपयोग गरी नक्कली कागजात बनाएर सरकारी पेन्सन खुवाएको आरोपमा उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको हो । सोही नगरपालिकाको वडा नम्बर २ बस्ने विकास प्रसाद यादवले आफ्नै श्रीमतिलाई कान्छी आमा बनाएर विगत पाँच बर्षदेखि श्रीमानको सरकारी जागिर वापत पाउने पेन्सन खाँदै आएको रहस्य बाहिरिएको हो । आमाको देहान्तपछि यादवले आफ्नी श्रीमति सँगिता देवीलाई आमा बनाएर पेन्सन खाँदै आएको समाचार न्यूज ब्यूरोमा प्रकाशित भएपछि प्रहरीले अनुसन्धान गरी पक्राउ गरेको हो ।
बुवा र आमाको बर्षौ पहिले मृत्यू भएको अवस्थामा श्रीमतिलाई नै कान्छी आमा बनाएर पेन्सन खुवाएकी सँगीतालाई पर्सा प्रहरीले निवेदनको आधारमा पक्राउ गरेको हो । सो वडाका वडाध्यक्ष जीतेन्द्र पटेलले स्थानीय सरकार गठन भएपछि २०७४ सालको चुनावमा स्वतन्त्रबाट निर्वाचित भएका थिए ।
निर्वाचित भएपछि भोँट दिन सघाएको भन्दै विकास प्रसाद यादवलाई श्रीमतिलाई नै आमा बनाएर पेन्सन खुवाउने उपहार दिएको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । उनका अनुसार, विकासको आमाको बर्षौ पहिले मृत्यू भईसकेको अवस्थामा वडाध्यक्ष पटेलको मिलोमत्तोमा नक्कली नागरिकता बनाएर बुवाको शिक्षक जागिरपछि पाउने पेन्सन आफ्नी श्रीमतिलाई आमा बनाएर खाँदै आएका थिए ।
न्यूज ब्यूरोले प्राप्त गरेको कागजातहरुमा विकास प्रसाद यादवकी श्रीमति सँगीता देवी नै रहेको अवस्थामा उनलाई आमा बनाएर पेन्सन खाँदै आएको हो । सोही मृत्यूदर्तामा अर्को नाम थपेर जालसाजी गरेको आरोपमा सँगीता पक्राउ गरिएकी हुन भने उनको श्रीमानलाई समेत प्रहरीले खोजिरहेको छ ।
आकाशका बुवा विनोद प्रसाद यादव पेशाले शिक्षक थिए । जागिरबाट अनिवार्य अवकाश पाएपछि सरकारले दिने गरेको जीवन निर्वाह भत्ता अर्थात पेन्सन उनको मरोउपरान्त श्रीमतिले मात्र पाउनुपर्ने प्रावधान रहेको अवस्थामा आकाशले आफ्नी श्रीमतिलाई नै आमा बनाएको हो । उनको आमाको करिब २५ बर्ष पहिले नै मृत्यू भईसकेको बताईन्छ ।
बुवाको उपरान्त उनको आमाले पाउनुपर्ने पेन्सनको लागि आमा हुनुपर्ने अनिवार्य हुन्छ । तर आमा र बुवा दुवैजना स्वर्गवास भएको अवस्थामा श्रीमतिलाई नै आमा बनाएर पेन्सन खाँदै आएको थियो । एउटै मृत्यूदर्तामा दुई जनाको नाम समावेश गरेको पाईएपछि प्रहरीले जालसाजी र सरकारी कागजात दुरुपयोग आरोप समेत लगाएको हो ।