वीरगञ्ज । नारायणी अस्पतालमा प्रसूति पश्चात् हेरचाह गर्न आवश्यक पर्ने कक्ष (पोस्ट नेटल केयर वार्ड) निर्माण हुने भएको छ । हाल रहेको कक्षमा सीमित सङ्ख्यामा रहेको बेडमा बढ्दो चापका कारण प्रसूति भएका आमा र बच्चालाई राख्न कक्ष अपुग रहेकाले थप २५ जना सुत्केरी आमा र बच्चा राख्न मिल्ने गरी नयाँ कक्ष निर्माण गर्न लागिएको हो । पोस्ट नेटल केयर वार्डको निर्माणको जिम्मा वीरगञ्जमा रहेको कन्साई नेरोलेक पेन्ट जापान प्राइभेट लिमिटेडले लिएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा कन्साई नेरोलेक पेन्टले ४० लाखको लागतमा अस्पतालमा पोस्ट नेटल केयर (पिएनसी) वार्ड निर्माण गर्ने सम्झौता गरेको नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी दिए ।
पिएनसी वार्ड छिटोछरितो निर्माण सम्पन्न गर्न आइतबार एक कार्यक्रमबिच वीरगञ्ज महानगरपालिका, कन्साई नेरोलेक पेन्ट र नारायणी अस्पतालबिच त्रिपक्षीय हस्ताक्षर समेत भएको छ । सम्झौतामा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह र कन्साई नेरोलेक पेन्टका तर्फबाट मनोज मिश्रले हस्ताक्षर गरेका छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अस्पतालमा निर्माण हुन लागेको पिएनसी वार्डको गुणस्तरीयतामा कुनै सम्झौता नहुने बताउँदै गुणस्तरीय र बिरामी मैत्री संरचना निर्माण गर्न निर्देशन समेत दिएका छन् ।
अस्पतालको सेवा चुस्त र गुणस्तरीय बनाउन महानगरपालिकाले आइसियु सञ्चालनका लागि आवश्यक सहयोगका साथै अस्पतालको सरसफाइ जिम्मा यस अघि नै लिएर काम गरिरहेको छ । यस्तै अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले अस्पतालमा रहेको विभिन्न समस्याहरू सबैको साथ र सहयोगबाट मात्रै समाधान हुने भएकाले निरन्तर सहयोग गर्न आग्रह गरे ।