वीरगञ्ज । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोस्रो क्याबिनेट बैठक वीरगञ्जमा सम्पन्न भएको छ । वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सम्पन्न क्याबिनेट बैठकले भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका विभिन्न ठाउँमा ५८ वटा स्कुल निर्माण गर्ने निर्णय गरेको छ ।
लायन्स अन्तर्राष्ट्रियबाट ५० हजार डलर (६५ लाख) र नेपालभरीका लायन्स क्लबबाट ६५ लाख गरी १ करोड ३० लाख मा स्कुल बनाउने निर्णय क्याबिनेटले पास गरेको लायन्स क्लबका डिष्ट्रिक्ट गर्भनर लायन डिएन अग्रवालले जानकारी दिए । त्यस्तै मानव सेवा आश्रम वीरगञ्जको भवन निर्माणका लागि १ करोड ३५ लाख रुपैयाँ लायन्स क्लबले सहयोग गर्ने निर्णय पनि पास भएको छ ।
वीरगञ्ज महानगरभित्रका आवश्यक सामुदायिक विद्यालयको भवन निर्माणका लागि १ करोड ८० लाख सहयोग गर्ने निर्णय पनि पास भइसकेको अग्रवालले बताए । उनकाअनुसार २ हजार जना मोतिबिन्दु भएकाहरुको निशुल्क शल्यक्रिया गर्ने पनि लायन्स क्लबले लक्ष्य लिएको छ । लायन्स क्लबले यि बाहेक स्वास्थ्य शिविर, रक्तदानसहित अन्य सचेतनामुलक कार्यहरुलाई निरन्तरता दिँदै आएको उनले दाबी गरे । दोस्रो क्याबिनेट बैठकले लायन्स क्लबका ३ लक्ष्य सर्भिस, लिडरसिप र फेलोसिपमा सफल भएको जिकिर अग्रवालको छ ।
क्याबिनेट बैठकमा पछिल्लो समय लायन्स क्लबहरुले गरेका कार्यहरुको मूल्यांकन तथा समिक्षासँगै भावि रणनीति पनि निर्माण गरिएको लायन्स क्लब अफ ३२५ एस एरिया ३ का एरिया चिफ उमेश शर्माले बताए । यसअघिका कमीकमजोरीलाई सुधार गर्दै अझै सशक्त भएर काम गर्ने, नयाँ क्लब बिस्तार गर्ने, सदस्य संख्या थप्ने कार्यमा लायन्स क्लबले काम गर्ने शर्माको भनाई छ । जति धेरै सदस्य बनाउन सकिन्छ, त्यति धेरै सेवा दिन सकिने मान्यताअनुरुप लायन्स क्लबको छ । शर्माकाअनुसार यसअघि पहिलो क्याबिनेट बैठक काठमाण्डौमा सम्पन्न भइसकेको छ भने तेस्रो क्याबिनेट बैठक हेटौडामा हुनेछ ।
लायन्स क्लब एरिया वानका रिजन चेयरपर्सन खड्क बहादुर राउतले क्याबिनेट बैठक भब्य र सभ्य रुपमा सम्पन्न भएको बताए । गर्भनर पनि वीरगञ्जकै भएको हुँदा आयोजकले व्यवस्थापनमा कुनै कमी नगरेको राउतले बताए । वीरगञ्जका लायन्स क्लबहरुको सक्रियताले सामाजिक क्षेत्रमा पनि थुप्रै प्रभाव परेकोमा राउतले खुशी व्यक्त गरे । लायन्स क्लबकै कार्यक्रममा उपस्थित हुँदा वीरगञ्ज घुम्न पाएको बताउँदै उनले आगामी दिनमा पनि क्लबले सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
क्याबिनेट बैठकमा ३२५ एस अन्र्तगत पर्ने ३ वटा एरिया बारा, पर्सा, मकवानपुर, काठमाण्डौ र ललितपुर जिल्लाका करिब ३ सय जना लायन्सहरुको उपस्थिती रहेको लायन्स क्लब अफ वीरगञ्ज सहयोगीका अध्यक्ष पशुपति भट्टले जानकारी दिए । क्याबिनेट बैठकको सहजीकरण डिष्ट्रिक्ट सचिव बासु तिमिल्सिनाले गरेका थिए ।
क्याबिनेट बैठकमा सहभागीहरुको मधुमेह र रक्तचाप परीक्षणका लागि लायन्स क्लब अफ वीरगञ्ज सहयोगीले स्वास्थ्य शिविरको पनि आयोजना गरेको थियो । शिविरमा १ सय ३५ जनाको मधुमेह र रक्तचाप परीक्षण गरिएको लायन्स क्लब अफ वीरगञ्ज सहयोगीका निवर्तमान अध्यक्ष दिलपाल साहले जानकारी दिए । क्लबका उपाध्यक्ष डा. सफरोज अन्सारीका अनुसार परीक्षण गराएका मध्ये १८ जनामा मधुमेह देखा परेको थियो ।