वीरगञ्ज । प्रहरी बनेर व्यवसायीहरूसँग असुली गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका – ८ लक्ष्मी टोल निवासी ४५ वर्षीय गोविन्द महतो कोइरी रहेका छन् ।
कोइरीले आफूलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको प्रहरी बताउँदै पछिल्लो ५–६ महिनादेखि व्यवसायीहरूसँग रकम असुली गर्दै आएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कोइरीले पर्सा, बारा र रौतहटमा व्यवसायीहरूसँग आफूलाई घुमुवा प्रहरी बताउँदै पैसा ठगी गर्ने गरेका थिए । पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार कोइरीले पछिल्लो पटक वीरगञ्ज – २३ हरपतगञ्जका व्यापारीहरूसँग महिनावारी रकम असुली गरिरहेका थिए ।
सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले कोइरीलाई वीरगञ्ज – २३ सुगौली बिर्तास्थित केमिकल कम्पनी अगाडिबाट मङ्सिर ८ गते नियन्त्रणमा लिएको डिएसपी थापाले जानकारी दिए । उनका अनुसार कोइरी प्रहरी होइनन् ।कोइरीमाथि थप अनुसन्धान भइरहेको थापाले बताए ।