वीरगञ्ज – बाराको सिम्रोनगढ नगरपालिकामा एक जना शिक्षक मृत फेला परेका छन्। सिन्धुपाल्चोक घर भएका शिक्षक नरेन्द्र पराजुली शुक्रबार साँझ मृत फेला परेको प्रहरीले जनाएको छ।
उनी सिम्रौनगढ नगरपालिका वडा न–८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय, कचोर्वामा कार्यरत थिए। उनी नगरपालिकाको वडा नम्बर ९ नयाँ बजारमा मृत अवस्थामा भेटिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
उनको मृत्यु कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको न्यौपानेले बताए।
सिम्रौनगढ नगरपालिकामा कार्यरत रहेका शिक्षकहरुसहित पराजुलीले पनि विगत पाँच महिनादेखि तलब पाएका थिएनन्। उनीहरु तलब नपाएपछि आन्दोलनसमेत गर्दै आएका थिए।