काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैंडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस र २९ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले पछिल्लो समय नेपालमा गैंडा र बाघको तस्करी बढीरहकोप्रति दुःख व्यक्त गरे। उनले वन क्षेत्रका प्रमुख चुनौति दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु रहेको बताए। पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौति देखिएको उनकाे भनाइ छ।
उपराष्ट्रपति यादवले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेको पनि बताए।
उनले चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवन रेखा भएको बताए। उपराष्ट्रपति यादवले भने , ‘वन क्षेत्रका प्रमुख चुनौती भनेको यसको दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु हो। पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौती देखिएको छ। जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा विभिन्न प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा छन्। सुदूरमा रहेका जनताले अझै वनको प्रयोग राम्रोसँग गर्न पाएका छैनन्। चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन सकेको छैन। तसर्थ चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवन रेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्छ।’ उनले वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने पनि बताए।